2

अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु

onlineshopping

आजकल नेपालमा sastodeal, kaymu जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुदै गईराखेका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारीराख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु नपर्ने हुदा खरिद गर्न सजिलो हुन्छ। तर सजिलोका साथसाथै सुरक्षित खरिदका केहि कुरामा ध्यान पुर्याएन भने उल्टो नोक्सानि पनि हुन सक्छ।

इन्टरनेटको माध्यमबाट खरिद गर्दा तपाइको कम्प्युटर, मोबाइल अथवा ट्याब्लेट सुरक्षित हुनु जरुरि छ। दशैँ तिहार जस्ता चाडहरूमा, बढी खरिद बिक्रि हुने बेलामा अझ धेरै चनाखो हुनु जरुरि हुन्छ। यस्तो बेलामा विभिन्न किसिमका फटाहा, ठगहरु तथा इन्टरनेट अपराधीहरुको गतिबिधि अरु बेला भन्दा अलि बढी नै हुने गर्छ।

निकै आकर्षक लाग्ने र अलि बढी नै छुट दिन्छौ भन्ने लोभ लाग्दा अनलाईन बिज्ञापन प्रति अलि बढी चनाखो हुनु पर्छ। ति अफरहरु कतिखेर तपाईले क्लिक गर्नु होला र तपाईलाई फसाउला भनेर पासो थापिएका हुन सक्छन्।

तपाईको बैंक एकाउंट मिलेन, पासवर्ड मिलेन, कार्डको नम्बर वा कोड मिलेन, यसो भएन अथवा उसो भएन भनेर सूचना मागिएका एवं सच्चाउन यहाँ क्लिक गर्नुहोस भन्ने जस्ता इमेल प्रति पनि अलि बढी नै सजग हुनु पर्छ।

इन्टरनेटको माध्यम बाट फटाही गर्ने मानिसहरु एवं अपराधीहरुलाई मान्छे लोभी हुन्छ भन्ने राम्रो संग थाहा हुन्छ, उनीहरु तपाई हामीलाई लोभ देखाएर, सस्तो मूल्य अफर गरे जस्तो गरेर हाम्रो सूचना तथा पैसा चोर्ने देखि तपाइको कम्पुटरमा जासुसी सफ्टवेयर नाजानिकिन इन्स्टल गरिदिने मौका खोजि रहेका हुन्छन्।

तसर्थ अनलाइन खरिद गर्दा निम्न कुरामा ध्यान पुर्याउनु अत्यन्त जरुरि छ:

सामान खरिद गर्नु पुर्व तयारी:

  • बेच्ने पसल वा मान्छेको बारेमा जानकारी: बेच्ने पसल वा मान्छेको पसलको ठेगाना एवं फोन नम्बर छ या छैन जाच गर्नुहोस्। केहि अफ्ठ्यारो पर्यो भने सम्पर्क गर्न सकिने व्यक्ति छ या छैन हेर्नुहोस्। नयाँ साइटबाट खरिद गर्दै हुनुहुन्छ तर त्यसको बारेमा तपाइलाई त्यति जानकारी छैन भने त्यो साइटको बारेमा अरुले के कमेन्ट गरेका छन् हेर्नुहोस्, गुगल वा त्यस्तै किसिममा सर्च साइटमा सर्च गरेर हेर्नुहोस (जस्तो site name fraud वा scam जस्ता सब्दहरु खोज्नु भयो भने त्यो साइटको विश्वसनीयताको बारेमा अरुले गरेका समालोचनाहरु भेट्न सकिन्छ)। त्यस्ता कमेन्ट एवं समलोचानाहरुमा त्यस साइटको माध्यमवाट खरिद गरेका पुर्व ग्राहकहरु संतुस्ट छन् वा छैनन् थाहा पाइसकेपछि अरुको अनुभवको आधारमा तपाईले त्यहाँबाट खरिद गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिन सक्नुहुन्छ।
  • कुनै पनि लिंक क्लिक गर्नु भन्दा पहिले तीनपटक सोच्नुहोस्: तपाईको ई-मेल, फेसबुक पोस्ट, अनलाइन बिज्ञापनहरुका लिंकहरु क्लिक गर्दा इन्टरनेट अपराधीले तपाईको सूचना चोर्न, भाइरस वा जासुसी सफ्टवेयर इन्स्टल गराउन सक्छन। त्यसैले कुनै पनि लिंक क्लिक गर्नु भन्दा पहिले कहाँबाट कसले के को लागि त्यो लिंक पठाएको हो र तपाईले त्यो लिंकमा क्लिक नगरी नहुने के छ विचार गर्नुहोस्। पुरा बिश्वासिलो श्रोतले पठाएको र आवस्यक नपर्दासम्म सकभर त्यस्ता लिंकहरु क्लिक नगर्नुहोस्। कुनै साइट वा बैकबाट इमेल मार्फत केहि व्यक्तिगत सूचना, युजरनेम वा पासवर्ड मागेको छ भने सम्बन्धित ठाउमा त्यस्तो मागको बारे जानकारी गराउनुहोस् तर त्यो मेल क्लिक गर्ने वा रिप्लाई गर्ने काम कहिले पनि नगर्नुहोस्।
  • व्यक्तिगत सूचना पैसा बराबर हो; त्यसको महत्व बुझ्नुहोस् सुरक्षा गर्नुहोस्: अनलाईन खरिद गर्दा भर्ने फारममा के के कुरा मागिएको छ, त्यो के का लागि हो र आवस्यक छ कि छैन ख्याल गर्नुहोस्। सामान्यतया सामान किनेर अर्डर कन्फर्म गर्दा मात्र तपाईका केहि सूचना मागिनु पर्छ, क्लिक गर्दा बित्तिकै फारम भराउन थाल्यो भने केहि गडबड हुन सक्छ।
  • सामान फिर्ता गर्ने नियम तथा अन्य नियमहरु ख्याल गर्नुहोस्: सामान किनिसकेपछी चित्त बुझ्दो नभए, खराब भए, नमिले वा केहि समस्या परे फिर्ता हुन्छ या हुन्न, फिर्ता गरेपछी पैसा फिर्ता हुन्छ या सट्टा सामान नै लिनु पर्छ, सामान फिर्ता गर्ने र पैसा प्राप्त गर्ने प्रक्रिया र शर्तहरु के के छन् पहिल्यै ख्याल गर्नुहोस्।
  • वेबसाइट एड्रेस भेरिफाई गर्नुहोस: साइटमा पुगेसकेपछी तपाई सहि साइट हुनुहुन्छ कि लिंक क्लिक गर्दा अन्तै कतै पुग्नुभयो फेरी चेक गर्नुहोस।
  • वेबसाइट सुरक्षा चेक गर्नुहोस:  अनलाइन सामान खरिद गर्ने साइटबाट तपाईको सूचना आदान प्रदान गर्दा इन्क्रिप्सन गरिनु अत्यन्तै जरुरि हुन्छ। इन्क्रिप्सन गरेपछि सूचना आदान प्रदान सुरक्षित हुन्छ र बिचमा कसैले त्यो सूचना पढ्ने वा यताउता गर्ने सम्भावना न्युन हुन्छ। त्यसको लागि तपाईले सामान खरिद गर्न लाग्नु भएको साइटको ठेगाना https बाट सुरु भएको हुनु पर्छ र त्यो https हरियो रंगमा देखिनु पर्छ। http मात्र छ अथवा https भएपनि काटेको छ वा रातो रंगको मा छ भने भने त्यो वेबसाइट सुरक्षित हुदैन।

sastodeal

खरिद गर्ने बेला

  • सुरक्षित भुक्तानी विकल्पहरू प्रयोग गर्नुहोस्: क्रेडिट कार्ड बाट सामान किन्दा यदि सामान प्राप्त नभएमा कार्ड जारिकर्ताबाट पैसा फिर्ता पाईने ब्ववस्था हुने भएकोले क्रेडिट कार्डबाट खरिद सुरक्षित मानीए पनि नेपालको परिप्रेक्ष्यमा सामान प्राप्त गर्दा नै पैसा तिर्ने मोडेल “Cash on Delivery” नै सबभन्दा सुरक्षित छ। यस मोडेलमा तपाईको हातमा तपाईले खोजेको र रोजेको सामान परेपछी मात्रै पुर्याउन ल्याउने व्यक्तिलाई भुक्तानी दिन सक्नुहुन्छ।
  • आवश्यक नभएको बेला Wi-Fi तथा Bluetooth बन्द गर्नुहोस्: कतिपय स्टोर एवं अन्य लोकेसनमा तपाईको मोबाइलको Wi-Fi तथा Bluetooth तरंगको माध्यमबाट तपाई कता हुनुहुन्छ भन्ने कुरा चियो गरिराखेका हुन सक्छन, त्यसैले आवस्यक नपरेको बेला Wi-Fi तथा Bluetooth बन्द गर्नुहोस्।
  • निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi प्रयोग गर्दा ध्यान पुर्याउनुहोस्: निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi बाट तपाईको ईमेल लगइन गर्ने, इन्टरनेट बैंकिङ चलाउने जस्ता सम्बेदनशील काम नगर्नुहोस्। तपाईको कम्पुटरको फायरवाल सधै अन राख्नुहोस साथै तपाईको मोबाईल वा कम्पुटर अरुले पत्ता लगाउन नसक्ने सेटिंग गर्नुहोस एवं फाईल शेयर गर्ने अप्सन बन्द गर्नुहोस्।

खरिद पछि

  • खरिदको रेकर्ड राख्नुहोस: सामान खरिद गरिसकेपछि अर्डर नम्बर, भुक्तानी गरेको कार्ड वा एकाउन्ट टिपेर राख्नुहोस र पछि सामान प्राप्त गर्दा र बैकले कार्डको स्टेटमेन्ट पठाएपछी तपाईको रेकर्ड, सामान र काटिएको पैसा रुजु गर्नुहोस्।
  • सामान प्राप्त गर्ने बित्तिकै जाँच गर्न नभुल्नुहोस्: तपाईले खरिद गरेको सामान प्राप्त हुने बित्तिकै त्यो सामान तपाईले अर्डर गरेकै हो या होईन, च्यात्तिने, उध्रिने, कुच्चीने, बिग्रिने भएको त छैन – जाँच गर्नुहोस्। फिर्ता गर्नु पर्ने वा साट्नुपर्ने भए तुरुन्तै गरिहाल्नुस, पछि सामान फिर्ता गर्न बेकारको झन्झट हुने र समय लाग्न सक्छ।

अन्य आधारभूत सुरक्षासम्बन्धि जानकारी

  • कम्पुटर, मोबाइल तथा ट्याब्लेट भाइरसमुक्त राख्नुहोस्। तपाईका कम्पुटर, मोबाइल तथा ट्याब्लेट भाइरस एवं जासुसी सफ्टवेयर मुक्त राख्नु अत्यन्तै जरुरि छ। अपरेटिङ सिस्टम सधै अपडेट राख्नुहोस, पाइरेट गरेका वा बजारमा पाइने CD/DVD वाला गैरकानुनी सफ्टवेयर प्रयोग नगर्नुहोस्। निशुल्क प्राप्त हुने कैयौ सफ्टवेयर इन्स्टल गर्ने क्रममा तपाईले नचाहेका अन्य सफ्टवेयर साथसाथै इन्स्टल हुन सक्छन्, त्यसबाट बच्न त्यस्ता सफ्टवेयर इन्स्टल गर्दा के के टिक लागेको छ ध्यान दिएर हेर्नुहोस, अन्य सफ्टवेयरको अफरर अस्विकार गर्नुहोस् र उपलब्ध भएको खण्डमा Custom अप्सन छनोट गरि अनावस्यक लागेका अफरहरुमा टिक हटाई त्यस्ता सफ्टवेयर इन्स्टल गर्न अस्विकार गर्नुहोस्।
  • सुरक्षित लगईन गर्नुहोस्: सम्भव भए सम्म पासवर्ड प्रयोग गर्दा Two-Factor Authentication (जस्तो लग-ईन गर्दा SMS बाट भेरिफाई गर्ने, एक पटक मात्रै प्रयोग गर्न मिल्ने पासवर्ड OTP  प्रयोग गर्ने) वा Thumbprint तथा अन्य Biometric भेरिफिकेसन प्रयोग गर्नुहोस्। पासवर्ड प्रयोग गर्नु पर्दा सुरक्षित र अरुले अनुमान गर्न नसक्ने खालको पासवर्ड प्रयोग गर्नुहोस् तथा पासवर्ड लेखेर नछाड्नुहोस्।
  • वाक्यको रुपमा राख्दा पासवर्ड सम्झिन सजिलो हुन्छ: सकभर १२ वा त्यो भन्दा बढी अक्षरको पासवर्ड चयन गर्नुहोस। सामान्य डिक्सनरीमा पाइने शब्द, नाम, फोन नम्बर सुरक्षित हुदैनन्। लामो पासवर्ड बनाउदा आफ्नो पासवर्डलाई सम्झिन सजिलो हुने गरि शब्द बनाउन सक्नुहुन्छ जसो “Happy Dashain to all” भन्ने पासवर्ड चयन गर्दै हुनुहुन्छ भने यसरि लेखि सुरक्षित बनाउन सकिन्छ – “H@ppyD@shain2aLL”। अझ बिचमा स्पेस प्रयोग गर्न पाउने अप्सन छ भने स्पेस पनि थप्नुभयो भने पासवर्ड अझ सुरक्षित हुनसक्छ।
  • सबैतिर एउटै पासवर्ड प्रयोग नगर्नुहोस्: हरेक ठाउँमा भिन्दा भिन्दै पासवर्ड राख्यो भने सम्झिन गाह्रो हुन्छ र कुनको कुन भनेर झुक्कीइन्छ भनेर धेरैले इमेल, फेसबुक देखि लिएर सबैतिर उही पासवर्ड राख्ने गर्छन्। तपाईको एकाउन्ट सुरक्षित राख्न हरेक साइट वा एप्लिकेशनमा भिन्दा भिन्दै पासवर्ड राख्न अत्यन्तै जरुरि छ। कुनै पनि वेबसाइट वा एप्लिकेसन शतप्रतिशत सुरक्षित छ भनेर ग्यारेन्टी गर्न सकिदैन, त्यसैले यदि कुनै एउटा एकाउन्टको पासवर्ड कसैले पत्ता लगायो भने बाँकि अन्य एकाउन्ट पनि त्यसै पासवर्डवाट खुली गडबड नहोस् भन्नाका लागि सबैमा एउटै पासवर्ड कहिले पनि प्रयोग नगर्नुहोस्।
  • सार्वजनिक स्थानको कम्पुटर अनलाइन कारोबारको लागि कहिले पनि प्रयोग नगर्नुहोस्: साइबर क्याफे, लाइब्रेरी तथा होस्टल जस्ता ठाउँका कम्पुटरमा कसैले प्रयोगकर्ताको युजरनेम, पासवर्ड, एकाउन्ट नम्बर जस्ता सूचना चोर्न जासूसी सफ्टवेयर राखेको हुन सक्छ। तपाईले चलाएका साइटहरुको स्वत: रेकर्ड हुने हिस्ट्री तथा लग इन गर्दा प्रयोग हुने कुकी बाट पनि तपाईको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ। त्यसैले त्यस्ता ठाउँमा उपलब्ध कम्प्युटरहरु अनलाइन सपिङ्गको लागि कहिले पनि प्रयोग नगर्नुहोस्। अनलाइन सपिङ्गका लागि सदैव आफ्नो कम्पुटर वा मोबाइल उपकरण मात्रै प्रयोग गर्नुहोस्। यस्ता कम्पुटरमा सामान्य किसिमको काम गर्नु पर्दा पनि ब्राउजर अनुसार Private Window, Incognito Window, अथवा In-Private Window प्रयोग गर्नुहोस र काम सकेपछी लगइन गरेको भए लगआउट गर्न नभुल्नुहोस्।
  • खरिद गर्दा जहिले पनि सुरक्षित नेटवर्क मार्फत गर्नुहोस्: निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi असुरक्षित हुन सक्छ। असुरक्षित Wi-Fi कनेक्सनवाट लग-इन गरि खरिद वा कारोवार गर्दा तपाईको सूचना ह्याकरले सजिलै चोरि गर्न सक्छन्। त्यसैले खरिद वा कारोवारको लागि सुरक्षित स्थानको विश्वसनिय नेटवर्क कनेक्सन (Wi-Fi / LAN) मात्रै प्रयोग गर्नुहोस्।

अनलाईन सपिङ्गग गर्दा अलिकति गृहकार्य तथा अनुसन्धानका साथै माथि उल्लेखित कुरा ध्यान पुर्याउनुभयो भने तपाईको सपिङ्ग सुरक्षित हुने आशा गर्छौ।

तपाईको दशैँ तथा तिहारको सुखमय बितोस् – हार्दिक शुभकामना।

2 Comments

  1. Useful tips for precaution on online shopping. It will be more fruitful if the blogger writes in Nepali. Most of the Nepali user are not able to understand the essence of the message.

Leave a Reply

Your email address will not be published. Required fields are marked *